|
प्रेस बिज्ञप्ति - देवकोटा जयन्ती तथा दीपावली साँझ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले नेपाली साहित्यका युग पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०१औं जन्मजयन्ती तथा शुभदीपावली साँझ विविध कार्यक्रमका साथ न्यू योर्क उडसाइड स्थित सगरमाथा रेष्टुरेण्टको हलमा मनायो । कार्यक्रममा वालकविता प्रतियोगिता, वयस्क कविहरुका बीच पनि प्रतियोगित सञ्चालन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रको सञ्चालन समाजका सल्लाहकार श्री शैलेश श्रेष्ठले गर्नुभएको थियो । नेपाली राष्ट्रिय गीतबाट शुरु गरिएको सो कार्यक्रमको उद्घाटन संयुक्त राष्ट्र संघका लागि नेपालका आवासीय स्थायी प्रतिनिधि राजदूत श्री ज्ञानचन्द्र आचार्यले गर्नुभएको थियो । नेपाली पोशाकमा सजिएका कन्याहरुले हातमा दीप लिएर सम्पूर्ण हललाई नै दीपमय पारेका थिए । स्वागत मन्तव्य दिंदै समाजका सभापति श्रीमती ज्योति पौडेलले नेपाली साहित्यका चम्किला तारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । महाकविलाई कवि व्यक्तित्वका अलावा एक सफल निवन्धकार, नाटककार, गीतिनाट्यकार हास्यव्यङ्गकार, उपन्यासकार, कथाकार, सम्पादक, अनुवादकका रुपमा चर्चा गर्दै देवकोटामा नेपाली भाषा माथिको वेजोड दखल हुनुका साथै संस्कृत, अंग्रेजी तथा हिन्दी भाषामा पनि उक्तिकै पोख्त रहेको विचार राख्दै देवकोटाको मानवताबादले ओतप्रोत अद्वितीय कल्पनाशील व्यक्तित्वका बारेमा समाजका प्रधान सम्पादक धनिराम सापकोटाले चर्चा गर्नुभएको थियो ।
जीवनको अन्तिम क्षणमा शान्तभवन अस्पतालबाट आफ्ना अनन्य मित्र प्रजातन्त्र रेडियो नेपालबाट नेपाल भाषामा समाचार वाचन शुरु गर्ने हरि श्रेष्ठलाई लेख्नुभएको पत्र जसमा भनिएको थियो “... मेरो अगाडि मृत्युको भयङ्कर रुप खडा भइसकेको छ । अहिले कृत्रिम शरीर धारण गर्दै छु, आकाशका तारामण्डल छुन खोज्छु सक्तिन । म उठ्न सके आँफै पनि आत्महत्या गर्ने थिएँ अनि मेरा बालबच्चालाई पनि ... । म यस दुनियालाई बोझ र चिन्ता दिन चाहान्न । अरुले मलाई बुद्धिजीवी भने तापनि म आफ्नो निम्ति मूर्ख भएँ, म त्यो ज्यातितिर ढल्कन खोज्छु तर अन्धकारले मलाई बोलाइरहन्छ । म यो असैह्य बेदना सहन सक्तिन । पोटासियम साइनेड कसैले दिए म उसलाई आफ्नो जीवनको सच्चा साथी सम्झनेथिएँ । म अपराधी हूँ, त्यसैले म यो अपराध मेट्न चाहान्छु । कसैले सके मेरा प्रकाशनका नाम पनि ...। म विलीन हुन चाहान्छु मरुभूमिमा जलकण झैं अब कसैले मलाई नचिनून भन्दै पोटासियम साइनेड माग गरी वि. सं. २०१६ साल भदौ ४ गते लेख्नुभएको सारगर्भित तथा मर्मस्पर्शी पत्रका बारेमासमेत सापकोटाले चर्चा गर्नुभएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको आस्तिक व्यक्तित्वका बारेमा देवकोटाद्वारा रचित यात्री कवितामा निहित भावको तुलना श्रीमद्भगवद्गीताको अध्याय ११ मा उल्लिखित “ इहैकस्थं जगत् कृत्स्नं पश्याद्य सचराचरम् । मम देहे गुडाकेश यच्चान्यद् द्रष्टुमिच्छसि ।।७।।” श्लोक र देवकोटाको अर्को कविता “ रहेछ संसार निसा समान, आएन जिउँदै रहँदा नि ज्ञान, आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक” लाई श्रीमद्भगवद्गीताको अध्याय २ मा उल्लिखित “ देहिनोक्स्मिन् यथा देहे कौमारं यौवनं जरा । तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।। १३ ।। को भावार्थसंग तुलना गर्दै महाकवि देवकोटा श्रीकृष्ण भगवानबाट सिञ्चित भएको व्याख्या श्री बिष्णु रुद्र शर्माले गर्नुभएको थियो । गायक श्री तिलक श्रेष्ठले यात्री कविता र गोपाल योञ्जनको “देशले रगत मागे मलाई बली चढाऊ ....” गीतलाई सजीव तरिकाले गाउँदा सभाकक्षमा सहभागी सबैले मन्त्रमुग्ध भएर सुन्नुभएको थियो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनिर्वाचित केन्द्रीय अध्यक्ष कोलोराडो निवासी श्री ज्ञानेन्द्र गदालले समाजलाई पठाएको शुभकामनालाई समाजका सदस्य श्री राजेन्द्र श्रेष्ठद्वारा पढेर सुनाइएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरका उपाध्यक्ष श्रीमती पूनम काफ्लेद्वारा लिखित “परदेशिएका पाइलाहरु” को मुख्य अतिथिद्वारा विमोचन गरिएको थियो । उक्त कृतिका बारेमा बोल्दै लेखिकाले ई.सं. १९९४ सालदेखि फाट्टफुट्ट रुपमा लेख्न थालेको र हरेक पटक कविता लेख्ता जन्मभूमिको मायाँ र विम्व हरदम मनमस्तिष्कमा आइरहने जानकारी दिनुभयो । साथै प्रकाशित कृतिमा भूमिका लेखिदिनुभएकोमा राष्ट्रकवि माधव घिमिरेप्रति हार्दिक नतमस्तकता प्रदान गर्नुभएको थियो । समाजका सल्लाहकार जगदीश उपाध्यायले प्रकाशित कृतिउपर समीक्षा गर्दै ६८ वटा कविता संग्रहित भएको जुन अत्यन्तै सरल बोलचालको भाषामा लेखिएको, देशपे्रम छचल्किएको र भावुक हिसावका कविताहरुको प्राधान्यता रहेको विचार राख्नुभएको थियो । यसै क्रममा सन् २००४ देखि २००९ सम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको कुशलता पूर्वक नेतृत्व गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण योगदान दिनुभएकोमा समाजका निवर्तमान अध्यक्ष तथा केन्द्रीय महासचिब श्रीमती गीता खत्रीलाई समारोहका प्रमुख अतिथि महामहिम राजदूत ज्ञानचन्द्र आचार्य र समाजका वर्तमान अध्यक्ष श्रीमती ज्योति पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । उक्त समारोहमा सम्मानित हुनुहुने खत्रीले कलात्मक हिसावमा “खुशी नै छु विदेशमा बसे पनि, हाम्रो भाषा हाम्रो कला हाम्रो स्वाभिमानी” भन्दै वर्तमान इतिहासको गर्भबाटै जन्मने र श्री दुवसु क्षेत्रीसमेतले जन्माएको यो साहित्य समाजले भविष्यमा अझ बढी राम्रो गर्ने आशाका साथ आँफू सँधै संस्थाको उत्तरोत्तर प्रगतिका लागि पर्ने वाचा पस्कनुभएको थियो ।
कार्यक्रमको दोश्रो सत्र समाजका सदस्य श्रीमती मोहिनी सैंजूले सञ्चालन गर्नुभएको थियो । दोश्रो सत्रमा बाल कवि कवयित्रीहरु क्रमश रोशन शर्मा, रायन श्रेष्ठ, प्रज्ञा सापकोटा, संयक पराजुली, सफिरा सुवेदी, जेनिसा रायमाझीले प्रतियोगितात्मक कविता वाचन गर्नुभएको थियो । कविताहरुको मूल्याङ्कन समितिमा क्रमश डा. तारा निरौला, अ ने सा स का निबर्तमान केन्द्रीय उपाध्यक्ष्य तथा मास्साचुसेट्स च्याप्टर की अध्यक्ष्य भारती गौतम र साहित्यकार खेमनाथ दाहाल रहनुभएको थियो । कार्यक्रमको तेश्रो सत्र समाजकी महासचिव श्रीमती परिता राजभण्डारीले गर्नुभएको थियो । यसै बीचमा कुन्ती थापा, मानवअधिकार कर्मी नर्वदा क्षेत्री लगायतले भैलिनी गीत प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि ज्ञानचन्द्र आचार्य लगायत प्रायस सबै सहभागीहरु भैलिनी गीतमा सामूहिक नृत्य प्रस्तुत गर्दा सम्पूर्ण वातावरण साहित्यिक दीपावलीमय भएको थियो । वयस्क कवि तथा कवयित्रीहरुको प्रतियोगितात्मक कविता वाचनमा कविहरु क्रमश रामचन्द्र थापा, विकास विष्ट, क्षितिज प्रसाईं, प्रणव शाह, हरि शर्मा, विद्याविमल वराल रहनुभएको थियो भने अप्रतियोगी हिसाबमा अरुण धिताल (नर्थ क्यारोलाइना), अ ने सा स की निबर्तमान केन्द्रीय कोसाध्यक्ष्य कमला प्रसाईं, समाजका क्षेत्रीय उपाध्यक्ष अनन्त रिसाल, मणि वाङ्गदेल, प्रदीप थापा मगर, महेश आचार्य, राजेन्द्र श्रेष्ठ, विनोद रोक्का, विष्णु पौडेल, सहदेव पौडेल, भारती गौतम, श्वेतपत्र गणतन्त्र महाकाव्यका लेखक खेमनाथ दाहालले वाचन गर्नुभएको थियो ।
यसै गरी कार्यक्रमको अन्तिम चरणमा निर्णायक मण्डलबाट सर्वसम्मतिले कविता बाचनमा प्रथम, द्वितीय तथा तृतीय हुने कवि तथा कवयित्रीहरुको नाम सुनाउनुभएको थियो । जसअनुसार बाल कवि तथा कवयित्रीहरुमा प्रज्ञा सापकोटा, न्यू जर्सी प्रथम, सफिरा सुवेदी, न्यू योर्क द्वितीय र संयक पराजुली, न्यू जर्सीले तृतीय स्थान हाँसिल गर्नुभएको थियो । त्यसै गरी वयस्क कवि तथा कवयित्रीहरु मध्येबाट विद्याविमल बराल, न्यू योर्क प्रथम, हरि शर्मा, न्यू जर्सी द्वितीय र विकास विष्ट, न्यू योर्कले तृतीय स्थान हाँसिल गर्नुभएको थियो । प्रतियोगितामा विजयी सबैलाई नगद तथा प्रमाण—पत्र वितरण गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले महाकवि देवकोटाका बारेमा प्रकाश पार्नुभएको थियो । नेपाली साहित्यका सेक्सपियर नाट््यसम्राट बालकृष्ण “सम” ले महाकवि देवकोटा “शाकुन्तल, मुनामदन र पागल” कविताका माध्यमबाट तीन—तीन पटक जन्मे भनी व्यक्त गर्नुभएको श्रद्धालाई उद्धरण गर्दै महाकविको बहुआयामिक विराट तथा असीम व्यक्तित्वलाई आस्तिक, नास्तिक, मानवतावादी, प्रगतिवादी, समाजबादी, प्रजातन्त्रबादी लगायतका कैयौं कोणबाट चिन्तन मनन र विश्लेषण गर्न सकिने विचार राख्नुभयो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट कम्तिमा पनि दस जना विद्वानहरुले देवकोटा उपर विद्यावारिधी गरिसकेको अवस्थामा देवकोटालाई चिन्न र बुझ्न अझ धेरै वाँकी रहेको भन्दै महाकवि देवकोटाका कृतिहरुका आधारमा पनि देवकोटा धार्मिक व्यक्तित्व नभए पनि अध्यात्मिक व्यक्तित्व भएको आँफूलाई लागेको वताउनुभएको थियो ।
कार्यक्रमलाई समापन गर्ने क्रममा समाजका सदस्य श्रीमती सीता खरेलले कार्यक्रमा सहभागी सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमा उठेको रकममा थप गरि नेपाल स्थित “देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र” लाई समाजका तर्फबाट आर्थिक सहयोग प्रदान गरिन लागेको जानकारी दिनुभयो भने कार्यक्रमलाई प्रायोजन गरिदिनुहुने तथा आर्थिक सहयोग गर्नु हुने रेनु सापकोटा, राजेन्द्र श्रेष्ठ, मायाँ बराल, प्रभू मनि ट्रान्सफर, महर्जन ज्वेलरी, जगदीश उपाध्याय , मेनका पोख्रेल, पंकज शाह, खगेन्द्र जी सी , केशब सेडाई लगायतका महानुभावहरुलाई समाजको तर्फबाट ह्दयदेखि नै धन्यबाद दिनुभएको थियो । त्यस्तै कार्यक्रम हल उपलब्ध गराइदिनुभएकोमा सगरमाथा रेष्टुरेण्टका सञ्चालक तथा ज्यादै मिहिनेतका साथ खानेकुरा वितरणमा अनवरत सहयोग गर्ने रेष्टुरेण्टका स्टाफ तथा कर्मचारीहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
अ ने सा स , न्यु योर्क
३० अक्टोबर २०१०
|