श्रद्धान्जली
- ज्योति पौडेल
न्यू योर्क, संयुक्त राज्य अमेरिका
अस्तायो सूर्य, अध्यारो छायो नेपाली मनमा |
गहिरो क्षति हुन गो अब नेपाली धनमा ||
ज्ञानका धनी मनका गुनी उपमा के के दिउँ |
राष्ट्रलाई हाक्ने बरिष्ठ नेता तिमीलाई कहाँ पाउँ ||
छोडेर जानै पर्ने यो सत्य नकार्न सकिन्न |
माटोको शरीर माटोमै मिल्दा केहि भन्न सकिन्न ||
जुन जीवन जियौ जीवन्त भई समाज सेवामा |
छोडेर गयौ प्रेमको दीप नेपाली नाउँमा ||
रोइरहेछन् फूल गर्जिए बादल हाम्रो यो शोकमा |
चीर शान्ति मिलोस आत्मालाई तिमी गएको लोकमा ||
(यो कविता न्यू योर्कमा २८ मार्च २०१० मा आयोजित स्वर्गीय श्री गिरिजाप्रसाद कोइरलाज्युको शोक सभा कार्यक्रमा वाचन गरिएको थियो )
__________________________________________________________________
लक्ष्मी प्रसाद देवकोटा
परिता राजभण्डारी
न्यूयोर्क, जून ६, २००९
|
लक्ष्मीपूजा, १९०९ मा उदायौ तिमी, साहित्यका झलमल तारा
सरस्वतीले बनाइन् तिमीलाई, आफ्नो शिष्य अति प्यारा ।।
क्षमता थियो तिमीमा, लेखनशक्ति अखण्ड थियो
मुनामदन तिम्रो हृदयको, अति प्यारो कृति थियो ।।
मिलेन चित्त शासनसंग, मन्त्रिपद त्यागी दियौ
आफ्ना लेखहरूद्वारा तिमी, बागी पनि बनी दियौ ।।
प्रहार गथ्र्यौ तिमी देखावटी र फुस्रोपनमा
अति साधारण रहनसहन, तर उच्चता तिम्रो मनमा ।।
साकुन्तल महाकाव्य तिमीले, मात्र तीन महिनामा लेख्यौ
यात्री कवितामा सम्पूर्ण ईश्वर, तिमीले मानवसेवामै देख्यौ ।।
दया तिमीमा अखण्ड थियो, दिन्थ्यौ आफू उदाङ्गै बनी
काम्यो लुगलुग त्यो गरीव कठै, दियौ कोटै फुकाली ।।
देव झैं बनी आयौ तिमी, नेपाली साहित्यका अमूल्य तारा
पियायौ जनमानसमा तिमीले, साहित्यरुपी अमृतधारा ।।
बन्दैछन् नयाँ कृतिहरु कविजी, तिम्रै कृतिहरुका आख्यानमा
विद्यावारिधी शोधहरु गरिंदैछन् , उनै कृतिहरुका व्याख्यानमा ।।
कोटीकोटी श्रद्धासुमन, महाकवि तिमीमा अर्पण गर्दछौं
हाम्रो यो अल्पविचारले अरु हामी, गर्न नै के सक्तछौं ।।
टारेर टर्दैन त्यो कालगति , १९५९ भाद्रको कुरा थियो
टुहुरो पारेर नेपाली साहित्य जगत्, टपक्क उसले टिपेर लग्यो ।।
____________________________________________________
शिव प्रसाद सत्याल ‘पीठ’
३० असौज, २०६६,
संयुक्त राज्य अमेरिका
|
विख्यात सहरको
यौटा छिंडीमा सभा गर्न
मानिसहरू मानिस कुर्दै थिए
म फुत्त छिरें,
यौटी पूर्वपरिचिताले
झट्ट अंगालो मारिन्
काँधमा काँध, जाँघमा जाँघ मिलाएर टाँसिइन्
र
अमेरिका जनाउँदै भनिन् –
हाउ आऽ यू ?सञ्चै हुनुहुन्छ ?
मैले भनिदिएँ – ओ ! यू आऽ हियर ? तिमी यहाँ ?
आ’म फाइन्, भेरी फाइन्, म सञ्चै छु, असाध्यै सञ्चै छु
के हुनु र !
बिसञ्चो हुने उमेर गैगो !
___________________________________________________
- अनन्तगोपाल रिसाल
१० अक्टोबर २००९
|
मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी
नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी |
पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी
शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१|
शावित्री तर सत्यवान्,कसमले-चम्पा-प्रभा,गाइने
बिर्सिन्नौँ सुन-यो छ है 'डलरमा',लक्ष्मी सधैँ चाहिने
भश्मै रै छ त यो,प्रसाद,जग खै? बाँकी रह्यो छैन ती?
धूवाँ झैँ,सब मैलियो दश-दिशा एकै बुझेँ कृष्णजी|२|
लक्ष्मी छन् कणमा,विदेश घरमा,लूकेर बस्छन् कति!
यौटै वीज थियौ,कहाँ शिखरमा,देख्यौ नजिकै यति?
तिम्रा भाव र सम्पदा नगरमा,बढ्नेछ आशा यहाँ
साझा छौ जनका,अगाध धनका,लक्ष्मी तिमी छौ जहाँ|३|
छाती चर्चर गर्दथ्यो,अमरता,खै त्यो कता?साधना?
छोड्यौ तल्तल ती नशा,कसर झैँ, छैनन् कुनै वाशना
धर्ती पूजन गर्दछौँ मिलिवरी,सुन्का अनर्सा फले
बन्ने भो,नव-पाइला मुलुकको, थाली-पुजा-दीपले|४| |
त्यागी बन्न सक्यौ!अहा!ऋदयले,वाणी मिठा भर्दियौ
सेवा नै जनको,उदार मनले,घाऊ सफा गर्दियौ|
आत्मा पूजन गर्दछौ,इश-भनी,ढुँगा न की देवता
लक्ष्मीका परसाद हौ,जन-कवि बस्छिन् त्यहिँ शारदा|५|
औँसीका,अझ रातका प्रहरमा,ज्योति बनी बल्दछौ
श्रस्टा हे!अब देशमा सरलता,शिक्षा नयाँ भर्दछौ|
देखौँ सज्जन आज,विश्व-जनमा, सम्मानको आँगन
हाम्रा शुद्ध बनुन्,सबै मतिहरु,भैलेनीको माँगन |६|
गोठैमा किन बस्दछौ? शरण ली, तिम्रा प्रशँसा कति?
धर्तीमा अझ झर्दछौ,धन-कवि,द्यौता सरी सम्पत्ती !
खाई घाँस रुखो,अम्रित बनी,उद्धार सबको गर
भक्ती भावन गर्दछौँ बस तिमी, नेपाल तिम्रो घर|७|
दैवी खेल छ यो,अवश्य रहने छैनन् यहाँ क्यै पनि!
द्वी-चारै महिना निवाश गरियो, मीठा कहानी भनी
बर्षौँ वर्ष बिते सताब्दी गईगो, खै के भयो सँझ त ?
भाषा रैछ समाजमा गतिदिने,प्यारो,मीठो,दुर्लभ |८|
जसै लक्ष्मी उक्ले,स्वरग तलमा,ईन्द्र पहिले
कुरा नेपालीमा,सहज गरियो,देव जनले |
सुनाए धर्तीका-मदन,कविले,विह्वर कथा
अहा!मीठा गाये,गजल रसिला,छन्द कविता|९|
बनायौ बाटा ती,अमर रहने,धर्म-मूरती
छ भाषा नेपाली सरल बहने, स्वर्ग-धरती|
बिते बर्सौँ,ताजा-तर छ अहिले सुन्दर-पन
उदाएका तारा,गगन भरमा झल्मल बन |१०|
__________________________________________________
लक्ष्मी तिम्रो अभाव नखट्कियोस
रंगी बिरंगी दीप्त उज्यालो झलमल लक्ष्मी पूजाको त्यो साँझ्
प्रसब पिडामा छट्पटाई रहेकी माता अमर राज्यलक्ष्मी आज्
घर घरमा हुँदै थियो रमझम लक्ष्मीको पूजा पाठ ताहाँ
पैदा भए एक वालक सोही घडी हलचल मच्चाई यहाँ ।।
संयोगवस जुर्न गयो लक्ष्मी प्रसाद नामकरण पनि
वास्तविकताको भेद पछि खुल्यो सरश्वतीको प्रसाद बनी
भाषा र साहित्यमा ल्याई आँधिवेहरी श्रीजना र बिधामा नै
पत्तै भएन तिमीलाई ताहाँ वितेको त्यो जीवन नै।।
बहुत मुस्किलले मिल्यो पाठशाला दरवार मा वि मा जहाँ
फूर्न थाल्यो कविता सोही वखत् चकित भए सव् ताहाँ
हुने विरुवाको चिल्लो पात झैं सोझियो कर्तव्य
साहित्यिक यात्राको सारथी भइकन हाँकी स्वयमले रथ।।
वावु आमा अनि सुपुत्री समेत दुई बर्ष भित्रै गुमाउदा
मर्महाथ हुनु स्वभाबिक थियो सहेर वियोगको पिडा
धुम्रपानको लत बसी गयो पर्यो स्वास्थ्यमा अधिक खोट्
आलो घाऊमा नून छरे सरि दुई पुत्र वियोगको त्यो चोट्।।
भारदार बाट समेत दिइयो दवाव स्विकार्दै सहज चुनौति
श्रीजना भयो सुलोचना दश दिनमै उत्कृष्ट भो सो कृति
शिक्षाको उज्यालो दियो बनी दर्शाइ आर्तहरुमा कृपा
झस्किए तात्कालिन शासक पनि देखि तिम्रो प्रतिभा।।
तिमी सहजै पुग्न सक्यौ ताहाँ जहाँ पुग्दैनन रवि
साहित्यमा बढ्यो अधिक प्रभाव उपमा मिल्यो महाकवि
अधिक आरोह अवरोह चलिरह्यो कर्मरुपी भै स्वदेशमा
कहीले वन्दी, प्रवास त प्रध्यापक शिक्षार्थिको भेषमा।।
लक्ष्मी तिमी थियौ स्वभिमानि स्वतन्त्रताका हिमायति अनि
प्रकाशन हुनगयो ‘युगवाणी’ प्रवासमै ‘पहाडी पुकार’ पनि
खुल्न थाल्यो भेद समाजको भनि झस्क्यो प्रशासन यहाँ
हार गुहार मग्न थालियो कूट्नीतिक रुपमै बन्द गराउन ताहाँ।।
तिमी बहुआयामिक व्यक्तित्वका धनी दानीमा झनै दानी
आफ्नो हरको कोट समेत फुकालिकन उपकार गर्ने बानी
जुन जुन स्रस्टाको रचना तिमी बाट भयो उत्कृष्ट बने ती सव्
यात्री कविताको बुझेमा सार हुन्थ्यो कल्याणकारी समाज अव्।।
आज शतवाषिकी जन्म दिवस सम्म निसंदेहै तिमी महाकवि
आँफै पूनर्जन्म गरे वाहेक यहाँ देख्दिन कुनै प्रतिद्वन्दि
शाकुन्तला, सुलोचना अनि मुनामदनले त बढायो तिम्रो शाख्
रहन गयौ तिमी सधैं अमर भै नेपालीहरू जन माझ्।।
रचना भए येथेस्ट कथा, कविता, निवन्ध अनि महाकाव्य
समकालिन साहित्यमा भए उच्चकोटिका तिम्रा हरेक वाक्य
नेपाली भाषा र साहित्यको विकासमा अतुलनिय योगदानको सराहना
तिम्रो अभाव खट्किन नपाओस भनि यस घडी दिदैछु शुभकामना||
(यो कविताले अक्टोबर १०, २००९ मा अ ने सा स न्युयोर्क ले देवकोटा शतवार्षिकीको उपलक्षमा आयोजना
गरेको साहित्यिक प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो )
|